काठमाडौं, २८ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको प्रहरी अनुसन्धान रोकिएको आंशका गर्दै सरकारमाथि प्रश्न गरेको छ ।
बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर पार्टीको तर्फबाट बोल्दै सांसद रामहरि खतिवडाले यस्तो बताएका हुन् । उनले भने, ‘काठमाडौंबाट सीआइबीले दुई जना प्रहरी प्रदीप क्षेत्री र रवि घिमिरेलाई पोखरामा छानबिन गर्न पठायो । छानबिनले लामिछाने सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो सत्ता समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन भयो भन्ने हामीलाई आशंका भयो ।’
जसमाथि छानबिन हुँदै थियो उही गृहमन्त्री भएपछि सहकारी पीडितहरू झन् समस्यामा परेको उनको भनाइ छ । आफूहरूले संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको तर सरकारले नसुनेको खतिवडाले आरोप लगाए ।