काठमाडौं, २ बेसाख । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।
आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको निष्कर्ष बैठकले निकालेको बताए ।
संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए ।
कांग्रेसले उक्त संसदिय छानविन समितिको माग गर्दै संसद अवरुद्ध समेत गरेको थियो । यही सन्दर्भमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।