काठमाडौं, २ बैसाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको बताए ।
सोही क्रममा उनले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको उनको भनाई छ । साथै उनले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबीसमेत गरे ।
उनले कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहीँ त्यसरी पाउनुहुँदैन ।त्यसको लागि नीतिगत रुपमा धेरै कुराको आवश्यकपर्छ । रोड टेष्ट नगरी ड्राभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ । स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ ।
यस्तै गृहमन्त्री लामिछानेले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए । ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको उनले बताए ।
उनले भने, ‘दुर्घटना न्युनिकरण राज्यको दायित्व हो । गृहमन्त्रालयको दायित्व हो । नागरिकको ज्यान बचाउने सबै भन्दा ठूलो दायित्व हो । सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुहुपर्छ । जस्तो सरकारको ड्राभिङ लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मान्छेले सही ढङ्गले सवारी चलाएको छ वा छैन भनेर हेर्ने निकाय अर्को छ । म त भन्छु रोड टेष्ट नगरी कन ड्राइभिङ दिने परिपाटी छ । त्यो परिपार्टी ठिक छैन ।’