काठमाडौं, ३ बैसाख । नागढुंगा– नौबिसे (सिस्नेखोला) मुख्य सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुविर महासेठ लगायतको उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु को गरिएको हो ।
यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो । दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब दुई मिटर खण्ड मात्रै खन्न बाँकी छ ।
सुरुङमार्गको निर्माण २०७६ कार्तिकबाट सुरु गरिएको थियो । ४२ महिनाभित्र उक्त सुरुङमार्ग सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, कोभिड १९ को महामारी र स्थानियको विरोधका कारण निर्माण कार्यमा ढिलाई हुँदा निर्माण सुरु भएको ५३ महिनापछि सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरिएको हो ।
यसअघि २३ फागुनमा मुख्य टनेलको ‘ब्रेक थ्रु’ गर्ने योजना गरिए पनि १४ मिटर खण्ड मात्रै खन्न बाँकी रहँदा स्थानीयले अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो । स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो ।
यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो । २२ अर्ब १४ करोड रुपैयाँभन्दा बढी लागतमा यो परियोजना बन्दै छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ भने बाँकी पाँच अर्ब ८५ करोड रुपैयाँ भने नेपाल सरकारले लगानी गरेको छ ।