काठमाडौं, ३ चैत । जनता समाजवादी पार्टी (जसपा) ले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीइ कार्यकारिणी समिति बैठकले महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
उक्त कार्यतालिका अनुसार जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा हुने भएको छ । यस्तै बेठकले वैशाख ३ गतेभित्र संकलन गरिएका संगठित सदस्यता मात्रै मान्य हुने निर्णय पनि भएको छ ।
वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकताअनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्ने र त्रुटि देखिएमा वैशाख १५ गतेभित्र सच्याउनुपर्ने जसपाले जनाएको छ । वैशाख १६ गते सदस्यता अभिलेख सार्वजनिक हुनेछ ।
यस्तै कार्यतालिकामा वैशाख १७ देखि २० गतेसम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ गतेदेखि २५ भित्र ती उजुरीमाथि छानबिन गरिसक्ने उल्लेख छ । संगठित पार्टी सदस्यहरूको अन्तिम नामावलीसहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने र वैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।
साथै मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनिष कुमार सुमन रहेका छन् ।