काठमाडौं, ४ बैसाख । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि पुनः दरखास्त आह्वान खुलाएको छ । यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा प्रयाप्त संख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको बैंकले जनाएको छ ।
सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । साथै कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
यस्तै चार्टर अकाउन्टेन्सी (सीए) अथवा व्यवस्थापन, बैंकिङ, फाइनान्स, अर्थशास्त्र, कमर्स, तथ्यांकशास्त्र, अकाउन्टिङ, गणित, बिजनेस प्रशासन तथा कानुनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अथवा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी वैशाख १७ गते ५.३० बजेसम्म आवेदन दिन सक्नेछन् ।
यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि निफ्राको सिइओ पद रिक्त रहेको छ । अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् ।