काठमाडौं, ४ बैसाख । पर्याप्त संख्यामा सांसदहरू उपस्थित नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगेका थिए । तर, तोकिएको समयभन्दा १५ मिनेट पछिसम्म पनि कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।
बैठक सञ्चालनका लागि १४ जना सांसद आवाश्यक पर्छ । बेठकमा ८ जनामात्रै सांसद उपस्थित भएपछि मन्त्री श्रेष्ठ समितिको बैठक हलबाट बाहिरिएका थिए । मन्त्री श्रेष्ठपछि सचिव र कर्मचारीहरू पनि बैठक छोडेर बाहिरिए ।
आजको बैठकमा सरकारको तर्फबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र अवस्था, विदेशस्थित नेपाली नियोगहरूको अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षका बारेमा छलफल गर्ने कार्यसूची थियो ।