काठमाडौं, ५ बैसाख । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ । मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण उनी कारबाहीमा परेका हुन् ।
जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।
२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो ।