काठमाडौं, ६ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो ।
छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।
‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ ।
सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सोडारीका पक्षमा भने एमाले देखिएको छैन ।
मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।