काठमाडौं, ६ बैसाख । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको बताए ।
ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले पत्राचार गरेको थियो । प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेका थियो ।
यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।
सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो । त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो ।