काठमाडौं, १७ वैशाख । बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले यस बारे औपचारिक घोषणा गर्न भने बाँकी छ ।
उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन् ।
२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।
२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।