काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले आजदेखि सुरु हुने बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको हैसियतमा नभई दलको नेताको रूपमा लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।
अघिल्लो अधिवेशनमा कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन बनाएर अनुसन्धान गर्नुपर्ने मागसहित संसद अवरोध गर्दै आएको थियो ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।
यस्तै बैठकमा सुप्रिम सहकारीको रकम अपचलनको बारेमा जिल्ला अदालत रुपन्देहीमा दायर अभियोगपत्र पनि कांग्रेसका सांसदहरूलाई बाँडिएको छ । त्यसमा लामिछानेको नाम ’हाइलाइट’ गरिएको छ ।