काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी, व्यवसायीको मनोबल उच्च राख्दै देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार नवलपरासीमा लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए ।
निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै उनले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सबल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारी अवसर सिर्जना हुन सक्दैन । देशभित्र लगानी वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रको सुरक्षा र सहजीकरणका निम्ति सरकार साथमा छ।’
यस्तै उनले नेपालमै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत् खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने बताए ।
लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानी गन्तव्य मुलुक बन्ने संकेत गरेको प्रधानमन्त्रीको दाबी थियो ।