काठमाडौं, २० साउन । सरकारले अगाडि सारेको सर्त मान्न टिकटक तयार भएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारले निर्णय गरेसँगै उक्त सर्त मान्नका लागि टिकटक तयार भएको हो ।
बुधबार टिकटकका प्रतिनिधि नेपाल आएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छलफल गर्दै सरकारले अगाडि सारेका सर्तमान्न तयार रहेको जनाएका हुन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ ।
यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक सद्भाव खलबल्याएको भन्दै २७ कात्तिक २०८० मा टिकटकमाथि लगाएको प्रतिबन्ध भदौ ६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले सशर्त प्रतिबन्ध खोल्ने निर्णय गरेपनि टिकटकसँग शर्तहरुबारे छलफल भएर सहमति नभएकाले अहिलेसम्म मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको छैन ।
२७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो ।
टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।
मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकको प्रतिवद्धतापत्र दर्ता गरेर दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिने सञ्चार मन्त्रालयको योजना छ ।