काठमाडौं, २१ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।
सञ्चार मन्त्रालयले बिहीबार नै प्राधिकरणलाई टिकटक खुलाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटरहरुलाई टिकटकको प्रयोग तथा पहुँचमा लगाइएको रोक हटाउन पत्राचार गरेको हो ।
शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
शर्त पालना गर्न टिकटकका प्रतिनिधि राजी भएपछि सञ्चार मन्त्रालयले बिहीबार टिकटक प्राविधिकरुपमा खुलाउन सहजीकरण गरेको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि बल्ल टिकटक चल्न थालेको छ ।