काठमाडौं, २३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् ।
भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएकोले उक्त एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए ।
उनले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने उनको भनाई छ ।
साथै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताए । उनले संस्कृति पनि भाषामै अड्किएको जिकिर गरे । भाषा नरहे संस्कृति नरहने बताउनुहुँदै भाषा बिना संस्कृतिको मौलिकता हराउने उहाँको भनाइ छ ।
उनले भने, ‘भाषाको मूल जरो हो उत्पादन पद्धति । संस्कृति पनि त्यसैमा अडिएको हुन्छ । त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो । हामी हाम्रो उत्पादन पद्धति समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन । हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ ।’