काठमाडौं, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा मन्त्री दाहालले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिएका हुन् ।
उनले जोखिममा रहेका स्थानमा सडक सुरक्षाका पूर्वाधार निर्माण र मर्मत गर्न समेत निर्देशन दिए । उनले सवारी नियम उल्लंघन नियन्त्रण, दुर्घटना भइरहाले उद्धार र अस्पतालसम्म पु¥याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई समेत तयारी अवस्थामा रहन आग्रह गरे ।
दशैं, तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको उनको भनाइ छ । चाडपर्वको समयमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने र त्यस्तो समयमा दुर्घटनाको समेत जोखिम उच्च हुने उनले बताए ।
सडक सुरक्षाको दीर्घकालीन व्यवस्थापनका लागि नीतिगत र कानुनी व्यवस्था गर्न मन्त्रालयले अगुवाई लिने भन्दै उनले सडक सुरक्षा परिषद्लाई क्रियाशील र प्रभावकारी बनाइने समेत बताए ।
सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रुहरू भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने भन्दै मन्त्री दाहालले यसका लागि तीनै तहका सरकार र सम्वद्ध निकायहरू बीच सहकार्यको खाँचो रहेको बताए ।
कार्यक्रममा नेपाल प्रहरी, स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, सडक विभाग, सडक बोर्ड, यातायात व्यवस्था विभाग लगायत विभिन्न निकायका अधिकारीहरूले सडक सुरक्षाका लागि भइरहेका प्रयास र योजना बारेमा प्रकाश पारेका थिए ।