काठमाडौं, २४ भदौ । लुम्बिनी प्रदेशसभाका सदस्य धनबहादुर केसी (डिबी) पक्राउ परेको एक दिनमै छुटेका छन् । कानूनअनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् ।
रुकुम पूर्व (ख) बाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार आत्मसमपर्ण गरेको थिए । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो ।
अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेश सभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए ।
श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।
सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।
अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो । कारागार स्रोतका अनुसार आइतबार राति उनलाई कारागार राखिएको थिएन । सोमबार बिहानसम्म पनि उनलाई कारागार नराखी सिधै अदालत पु¥याइएको थियो ।