काठमाडौं, २५ भदौ । अब देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचल्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । साथै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।
टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।
यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो । सोही आधारमा टीएमएस नचल्ने व्यवस्था गर्न भनिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रमा उल्लेख छ,‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा टीएमस नचलाउने व्यवस्था सम्बन्धमा नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउनुपर्नेछ ।’