काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी गराएका छन् । अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले अमेरिकाको न्युयोर्कस्थित दुईवटा विश्वविद्यालय कोलम्बिया र हावर्डमा सम्बोधन गर्ने भएका छन् ।
भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने उल्लेख गर्दै उनले अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने बताए ।
महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम छ ।