अस्मिता सापकोटा
काठमाडौं, ९ असोज । कुनै पनि वस्तु वा सेवा उत्पादन गरेर बेच्नकै लागि ब्राण्ड चाहिँदैन । तर यदि कोही उद्यमीले आफ्नो उत्पादन वा सेवाबाट समाजमा प्रभाव परोस् र त्यो उत्पादनको माग लामो समयसम्म भइरहोस् भन्ने चाहन्छ भने ब्राण्ड अनिवार्य छ । कुनै पनि उत्पादनको ब्राण्ड बनाउने काम त्यति सजिलो भने छैन । तर पछिल्लो समय उद्यमीहरू आफ्नै ब्राण्ड बनाउने कार्यमा लागि परेका देखिन्छन् । यो क्रम २०२४ मा त झनै धेरै छ, जुन आगामी केही वर्षसम्म पनि चलिरहने देखिन्छ । उपभोक्ताले कुनै पनि सामान किन्दा ब्राण्ड भ्यालु भएको मन पराउने हुँदा उद्यमीहरू ब्राण्ड बनाउन लागि परेका छन् ।
सामाजिक संजालमा कम्पनीका सीइओ, उच्च पदस्थ कर्मचारी लगायतको बलियो र प्रभावकारी उपस्थितिले उक्त कम्पनीको ब्राण्ड भ्यालु बढाउन सहयोग पु¥याउँछ ।
केही अध्ययनले ७७% उपभोक्ताहरू कम्पनीको सीईओ सामाजिक संजालमा सक्रिय भएमा त्यस कम्पनीको उत्पादन प्रयोग गर्न बढी इच्छुक हुने देखाएका छन् । साथै उक्त अध्ययनबाट ८२% उपभोक्ताहरूले अनलाइन सक्रिय हुने कम्पनीलाई बढी विश्वास गर्ने गरेको देखिन्छ ।
सामाजिक संजालमा सक्रिय रहँदा धेरै उपभोक्त ामाझ पुग्न सकिनुका साथै ब्राण्ड भ्यालु बढाउन पनि सकिन्छ । यसबाट कम्पनीले मनग्गे लाभ लिन सक्छ । यहाँ उद्यमीहरूले आफ्नै ब्राण्ड निर्माण गर्नुका केही कारणहरू चर्चा गरिएको छ ।
१. अन्य उद्यमीको भन्दा बेग्लै पहिचान बनाउन
उपभोक्ताहरु प्रायः आफूले चिनेको कम्पनीको सामान नै प्रयोग गर्न मन पराउँछन् । त्यसैले सामाजिक संजालमा सक्रिय रहनाले उत्पादनको विक्री धेरै हुने सम्भावना बढ्छ । साथै उपभोक्तामाझ पहिचान कायम गर्ने क्रममा आफ्नो छुट्टै ब्राण्ड स्थापना गर्न सकिन्छ । यसो गर्दा आफ्नो उत्पादन तथा पहिचान अन्य प्रतिस्पर्धीको भन्दा बेग्लै बन्न सक्छ ।
एक उद्यमीले आफ्नो कम्पनी वा उद्यमको बारेमा जति प्रचार प्रसार गर्छ, जति धेरै संजालमा उपस्थिति जनाउँछ, त्यति नै छिटो ब्राण्डको स्थापना हुन्छ । उपभोक्ताको विश्वास जित्न पनि कुनै न कुनै माध्यमबाट उनीहरूसँगको अन्तरक्रिया आवश्यक हुन्छ ।
२. ट्रेन्ड अनुसार प्रतिस्पर्धा गर्न
एउटा सफल ब्राण्डको स्थापनाले मात्र ट्रेन्ड अनुसार बजारमा आफ्नो उत्पादनको खपत कायम राख्न सकिन्छ । अहिलेको जस्तो भाइरल ट्रेन्डको समयमा त ब्राण्डको भ्यालु झनै छ । कुनै अन्य उत्पादनको ट्रेन्डसँग आफ्नो उत्पादनको प्रतिस्पर्धा गराउन पनि यसको आवश्यकता छ ।
३. नेटवर्क बनाउन
नेटवर्कविना कुनै पनि ब्राण्डको स्थापना सम्भव छैन । तर बजारमा आफ्नो नेटवर्क बढाउन पनि ब्राण्डकै आवश्यकता हुन्छ । जति सफल ब्राण्ड त्यति ठूलो नेटवर्क, अनि त्यति नै धेरै बजार माग । नेटवर्कले उत्पादनको खपत बढाउनुका साथै बजारमा स्थायित्व पनि कायम गराउँछ ।
४. प्रभाव कायम राख्न
बजारमा आफ्नो उत्पादनको प्रभाव कायम राख्न पनि ब्राण्डको ठूलो भूमिका हुन्छ । टेलिभिजन वा रेडियोमा बजाइएको विज्ञापन उपभोक्ताले बिर्सिन पनि सक्छन् । तर एउटा सफल ब्राण्डले पारेको छाप धेरै समय कायम रहन्छ । यसका साथै उद्यमीको आफ्नै विचार, उत्पादनप्रतिको धारणा, दृष्टिकोण लगायतले पनि उपभोक्तामाझ उत्पादनको भ्यालु कायम राख्न मद्दत पुग्छ ।
एउटा सफल ब्राण्ड निर्माणबाट धेरै लाभ पाउन सकिन्छ । यसका लागि एउटा उद्यमीले उपभोक्ताको माग र उत्पादन प्रतिको अपेक्षालाई सम्बोधन गरेर उनीहरूबीच आफ्नो प्रभाव कायम राख्न सक्नुपर्छ । यो उपभोक्तासँगको सफल अन्तरक्रियाबाट मात्र सम्भव छ ।
(एजेन्सीको सहयोगमा)