काठमाडौं, १० असोज । चालू आर्थिक वर्ष २०८१/८२ को साउनमा विदेशी विनिमय सञ्चिति करिब २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको साउनमा विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुगेको छ, जुन गत आवको असार मसान्तयता २ दशमलव ५ प्रतिशतले बढेको हो । गत आवको अन्तिममा यस्तो रकम २० खर्ब ४१ अर्ब १० करोड थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा चालू आवको साउनमा २ प्रतिशतले बढेर १५ अर्ब ५८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत आवमा यस्तो सञ्चिति १८ खर्ब ४८ अर्ब ५५ करोड थियो ।
यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ८.४ प्रतिशतले वृद्धि भई.२ खर्ब ८ अर्ब ७९ करोड कायम भएको छ । २०८१ असार मसान्तमा यस्तो सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रहेको थियो ।
२०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
चालू आवको साउनको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
साउनमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन ्। २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।