काठमाडौं, १३ असोज । दशैंका लागि आजदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आज (असोज १३ गते) देखि २२ गतेसम्म सुकिला नोट साटन सक्ने जनाएको छ ।
राष्ट्र बैँकका अनुसार बैंकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाउने छन्।
साथै इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर, यसवर्ष नयाँ नोट भने नसाटने भएको छ । यो वर्ष एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो ।
‘२०८१ सालको बडा दसैंमा माग हुने साना दरका नोट सटहीको लागि यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट मिति २०८१–०६–१३ देखि २०८१–०६–२२ गतेसम्म सुकिला नोट सटही गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचना भनिएको छ ।