पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारी साधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारी साधन काठमाडौँ भित्रिएको जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।
‘आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरनेछन्’, उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।’
आज दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढीपहिरो, डुबान तथा विपदमा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए ।
प्रवक्ता तिवारीले आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्धार भइसक्ने बताए । उनले मौसम पूर्णरुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली परिचालन भएको जनाइएको छ । राससको सहयोगमा