काठमाडौं, १६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
१८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले प्राधिकरणले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । ‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, प्राधिकरणले सूचनामा भनेको छ ।
प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
प्राधिकरणले सूचनामा भनेको छ,‘यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुनु हुन सबैमा विनम्र अनुरोध छ ।’