काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले ठूला सेयरधनीहरूलाई कडाइ गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मंगलबार एकीकृत एक निर्देशन संशोधन जारी गर्दै ०.५ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनी कर्जा तथा गैरकोषमा आधारित सुविधामा रोक लगाएको हो ।
जसअनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन पाउने छैनन् ।
यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो । अब संस्थापकमात्रै होइन, साधारण सेयरसमेत १ प्रतिशतभन्दा बढी छ भने सो सुविधा प्रयोग गर्न नपाइने भएको छ ।
‘संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ संशोधित निर्देशनमा भनिएको छ । यसअघि संस्थापक सेयरको हिस्सा तोकिएको थिएन ।
साथै बैंकहरुले ०.५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका सेयरधनीहरुको विवरण अर्धवार्षिक रुपमा राष्ट्रबैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पेश गर्नुपर्ने भएको छ ।