काठमाडौं, ३० असोज । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड रुपैयाँ अर्थात् १ दशमलव ४ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा प्रवाह ३३ अर्ब ६० करोड (०.७ प्रतिशत)ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।
चालू आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६४ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको भदौमा यस्तो कर्जाको अंश ६३ प्रतिशत थियो । यस्तै व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जाको अंश ३७ प्रतिशत थियो ।
भदौमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरुको १.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा धेरै घर जग्गा धितो सुरक्षणमा गएको छ । सो अवधिमा घर जग्गा धितो सुरक्षणमा मात्रै ६६.२ प्रतिशत कर्जा प्रवाह भएको छ । जुन गत आवको भदौको तुलनामा १ प्रतिशत विन्दुले कम हो । गत आवको सो अवधिमा यसतर्फ बैंक तथा वित्तीय संस्थाबाट ६७.२ प्रतिशत लगानी गएको थियो ।
चालू आवको भदौमा सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा १३.२ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको भदौमा यस्तो धितोमा १२.१ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.० प्रतिशतले, हायर पर्चेज कर्जा ०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.२ प्रतिशतले र नगद प्रवाह कर्जा १.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४.९ प्रतिशतले घटेको छ ।