काठमाडौ., ७ कार्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको असोजसम्मको तुलनामा २३.३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २२ करोड थियो ।
चालू आवको असोजसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ, अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ १८ पैसा हो ।
असोजसम्मा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको असोजमा यस्तो आम्दानी ४ अर्ब ८० करोड रहेकोमा यो वर्षको यसै यसै अवधिमा ४ अर्ब ११ करोडमा खुम्चिएको छ ।
लोनलस प्रोभिजन रकम घट्दा बैंकको नाफा बढेको देखिन्छ । चालू आवको असोजसम्मा बैंकको लोनलस प्रोभिजन रकम १ अर्ब ७ करोड रहेको छ । गत आवको सोही अवधिमा बैंकको प्रोभिजन रकम १ अर्ब ७८ करोड रहेको थियो ।
बैंकको निष्क्रिय कर्जा बढेको छ । गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा ४.३८ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।