अस्मिता सापकोटा
काठमाडौं, ८ कार्तिक । तपाईंलाई अंक तथा तथ्यांकसित लगाव छ ? तपाईं जटिल संख्यात्मक समस्या सरलीकरण गर्न रुचाउनु हुन्छ ? यस्तो हो र तपार्इं विश्लेषणात्मक सीप आवश्यक पर्ने क्षेत्रमा करियर बनाउन चाहनु हुन्छ भने गणित विषयको डिग्री उपयोगी हुन सक्छ ।
गणित धेरैलाई गाह्रो लाग्ने विषय हो । त्यसैले अन्य विषयको तुलनामा यसमा डिग्री हासिल गर्ने विद्यार्थी कमै हुन्छन् । यद्यपि विश्वभर हरेक वर्ष दशौं हजार विद्यार्थीले यस विषयमा डिग्री हासिल गर्ने अनुमान गरिएको छ ।
गणितको डिग्रीले शिक्षकभन्दा बाहेक पनि अन्य धेरै रोजगारीका अवसर दिन्छ । पछिल्लो समय डेटामा आधारित रहेर गरिने काममा गणितको डिग्री भएका कामदारको माग बढ्दै गएको छ । यसमा डिग्री हासिल गरिसकेपछि डेटा वैज्ञानिक, एक्चुरी, तथ्यांक विज्ञ, मेशिन लर्निङ इन्जिनियर, क्रिप्टोग्राफर लगायत पेसामा आबद्ध हुन सकिन्छ । यसैगरी बैंकिङ, आईटी, वित्त, दूरसञ्चार लगायत क्षेत्रमा पनि अंक तथा तथ्यांक सम्बन्धि सीप भएका कामदारको माग धेरै छ ।
१. डेटा वैज्ञानिक (डेटा साइन्टिस्ट)
पछिल्ला केही वर्षयता डेटा वैज्ञानिक पेसामा आबद्ध हुनेको संख्या बढेको छ । यस पेसामा ठूलो मात्रामा तथ्यांक सङ्कलन तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ । साथै यसमा आबद्ध कामदारले सांख्यिकीय विधि र दृश्यांकन (भिजुअलाइजेसन) उपकरणको प्रयोग गरेर तथ्यांकको विश्लेषण गर्ने र त्यसबाट महत्वपूर्ण जानकारी निकाल्नु पर्छ । यसमा प्रारम्भिक तथ्यांकबाट नयाँ खोज गरेर भविष्यमा हुन सक्ने सम्भावना पहिल्याउन सक्ने मोडल बनाएर त्यसको कार्यक्षमता बढाउने काम गरिन्छ । यसका अतिरिक्त कम्पनीको आवश्यकता अनुसार विभिन्न विभागसँग समनवय गरेर सफलताको उपाय खोजिन्छ । यस पेसामा अब्बल हुनका निम्ति सांख्यिकीय र विश्लेषणात्मक ज्ञानका साथै प्राविधिक सीपको पनि आवश्यकता हुन्छ ।
२. एक्चुरी/एक्चुरियल वैज्ञानिक
व्यवसायले सामना गर्नुपर्ने अनपेक्षित जोखिमलाई ध्यानमा राख्दै कम्पनीहरूले जोखिम मूल्याङ्कन र व्यवस्थापन गर्न एक्चुरीको माग गर्छन् । बीमा, पेन्शन, बैंकिङ, वित्त लगायत क्षेत्रमा यस्ता विशेषज्ञहरूको आवश्यकता हुन्छ । यिनीहरू सम्भावित दुर्घटना तथा प्राकृतिक विपदको मूल्याङ्कन गरेर आर्थिक जोखिम विश्लेषणका साथै भविष्यमा कम्पनीले पूरा गर्नुपर्ने काम तथा दायित्व अनुमान गर्न सक्षम हुन्छन् । यसले कम्पनीलाई सही निर्णय गर्न मद्दत गर्दछ र सम्भावित घाटा हुनबाट जोगाउँछ । यस विषयमा सक्षम हुन वित्तीय ज्ञान, विश्लेषणात्मक क्षमता लगायत सीप विकास गर्नुपर्छ ।
३. सांख्यिकीविद् (स्टाटिस्टिसियन)
सांख्यिकीविद् (स्टाटिस्टिसियन)ले तथ्यांक सङ्कलन गर्ने तथा विभिन्न सङ्कलन विधिको विकास गर्छन् । यसले डेटा सर्वेक्षण तथा तथ्यांकको विश्वसनीयता सुनिश्चित गर्न मद्दत गर्छ । यसका साथै उनीहरूले कच्चा तथ्यांकलाई मिलाएर अप्रासंगिक जानकारी तथा गल्तीहरू हटाएर तथ्यांकको मूल्याङ्कन गर्ने काम पनि गर्छन् । उनीहरुले यसबाट परिणामको पूर्वानुमान गर्ने ढाँचा बनाउँछन्, जसबाट संस्थाको भविष्य अनुमान गर्न सकिन्छ । यसबाट सम्भावित जोखिम कम गर्न सहयोग पुग्छ । पछिल्लो समय वित्तिय र प्रविधि क्षेत्रमा सांख्यिकीविद्को उल्लेख्य माग बढेको देखिन्छ ।
४. मेशिन लर्निङ इञ्जिनियर
प्रविधिमा भएको विकाससँगै बजारमा मेशिन लर्निङ इञ्जिनियरको माग पनि बढिरहेको छ । यसमा डेटा सङ्कलन तथा व्यवस्थापनको काम हुन्छ । यसका साथै मेशिन लर्निङ मोडेलको विकास गर्नु, त्यस मोडेलका लागि कोड बनाउनु र संचालनका लागि एल्गोरिदममा काम गर्नु इञ्जिनियरको मुख्य जिम्मेवारी हुन्छ । त्यसैले नयाँ एल्गोरिदमको प्रयोग र नयाँ प्रविधी अनुसार कम्पनीको विकास गर्न यस्ता इन्जिनियर सक्षम हुनुपर्छ । साथै इञ्जिनियरमा बीजगणित, क्याल्कुलस, सांख्यिकी जस्ता विषयको जानकारी हुनु आवश्यक छ ।
५. क्रिप्टोग्राफर
इन्टरनेटको बढ्दो प्रयोगले संवेदनशील जानकारी गलत मान्छेको हातमा पर्न सक्ने जोखिम बढेको बेला यस्ता जानकारी सुरक्षित बनाउन क्रिप्टोग्राफरको भूमिका हुन्छ । उनीहरुले सञ्चारलाई सुरक्षित गर्न क्रिप्टोग्राफिक प्रणालीहरू विकास गर्नुका साथै इन्क्रिप्शन प्रणालीको मूल्यांकन गरेर सुरक्षा मानक सुनिश्चित गर्छन् । यसका साथै क्रिप्टोग्राफी र साइबर सुरक्षामा आउने नयाँ प्रवृत्तिमा अपडेट रहेर संघसंस्थालाई आफ्नो जानकारी जोगाउन आवश्यक मद्दत गर्नु उनीहरूको दायित्व हो । यस क्षेत्रमा काम गर्न समस्या समाधान तथा विश्लेषणात्मक क्षमताका साथै कम्प्युटर नेटवर्कबारे ज्ञान हुनु आवश्यक छ । डेटा सुरक्षाप्रति बढ्दो चासो तथा चुनौतीका कारण यस क्षेत्रमा प्रशस्त रोजगारीको अवसर छ ।
(एजेन्सीको सहयोगमा)