काठमाडौं, २२ कार्तिक । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।
कम्पनीले बिहीबार एक सूचना जारी गर्दै २५ हजार टन डीएपी मल ल्याउने ठेक्को आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिले पाएको जनाएको हो ।
आदित्य बिरला ग्लोबल ट्रेडिङले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएको हो ।
कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको कम्पनीले जनाएको छ ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ ।
गत आथिर्क वर्ष २०८०÷८१ को सहित गरी अहिले १ लाख ४४ हजार ८ सय २५ टन रासायनिक मल मौज्दात जनाइएको मन्त्रालयले जनाएको छ ।
चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।