काठमाडौं, २३ कार्तिक । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम अनुमोदन गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका निरौला र पिाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो । सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जवाफ दिए ।
निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको र सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो ।
ती उजुरीमाथि जबाफ दिदै निरौलाले आफू मुख्य रजिस्ट्रार भएका बेला न्यून बेरूजु भएकोले पुरस्कार पाएको र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रिया सम्बन्धमा आफू संलग्न नरहेको बताए ।
समितिमा पाण्डेविरूद्ध भने कुनै उजुरी परेको थिएन । पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा आफू समर्पित भएर लागिपर्ने बताएका थिए।