काठमाडौं, २३ कार्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित उक्त सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।
मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए ।
इन्टरपोलबाट नोटिस जारी भएसँगै अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन् ।
गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीको ऋण तिरेको पाइएको छ । प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ ।