काठमाडौं, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।
उनलाई निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । उनलाई काठमाडौं ल्याउने तयारी छ ।
मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले बुधबार पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । अधिकारीलाई मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो । उनीसँगै गएका तीन जनालाई पनि अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।
उनका साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै पक्राउ थिए भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो । जापान जानका लागि उनीहरुले मोटो रकम बुझाएको बयान दिएका थिए । पूर्वमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए । एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएपछि आलोचना भइरहेको थियो । त्यसको एकसातापछि मन्त्री अधिकारी पक्राउ परेका हुन् ।
यसै प्रकरणमा नुवाकोटको विदुर ७ का जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डे पनि पक्राउ परेका छन् ।