काठमाडौं, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १९ जना सांसदमाथि सर्वोच्च अदालतमा अवहेलना दर्ता भएको छ ।
सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको दाबीसहित लामिछानेबाहेकका रास्वपाका १९ सांसदमाथि नै अवहेलना दर्ता गरिएको हो ।
१९ सांसदमाथि नै सर्वोच्चमा अवहेलना दर्ता भएको जानकारी नेताहरूले पाएपछि आज दिउँसो दुई बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ ।
रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा विरोध प्रदर्शन गर्दै आएको थियो । आज विरोधका दोस्रो चरणको नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी थियो ।
सर्वोच्च अदालतले रास्वपाका अधिकांश केन्द्रीय पदाधिकारीमाथि अपहेलना मुद्दा दर्ताको आदेश गरेको छ । सहरजिस्टारको आदेशले दरपीठ भएको मुद्दा दर्ताको आदेश मङ्गलबार भएको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिवक्ता अनुपम भट्टराई निवेदक रहेको मुद्दा दर्ताको आदेश गरेको हो ।
सभापति रवि लामिछाने पक्राउ परेपछि अदालतको न्यायिक कार्यमा अवरोध पुग्ने गरी प्रदर्शन गरेको, आफ्ना अभिव्यक्तिमार्फत अदालतलाई प्रभावमा पार्ने र धम्क्याउने काम गरेको जिकिर मुद्दामा गरिएको छ । यस्तै न्यायाधीशमाथि अप्रमाणित आक्षेप लगाएको दाबी पनि मुद्दामा गरिएको छ ।
यस्तै बागमती प्रदेश सभापति अच्युतम लामिछानेमाथि पनि मुद्दा दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै अब मुद्दा दर्ताको प्रक्रिया अघि बढ्नेछ ।