काठमाडौं, २ मंसिर । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरु गरेको छ ।
टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ ।
रोबर्टले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए । उनले आज मैना रोबर्टको डेमो मात्रै सुरु गरिएको बताए ।
सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु सुरु गरेको उनले बताए । सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा सुरु गरिएको उनको भनाई छ ।
रोबर्टलाई ६ सय प्रश्नको तालिम गराइएको छ । नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरूले रोबर्टसँग जिज्ञासा राख्नसक्ने पन्थीले बताए ।
उनका अनुसार रोबर्टले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिनेछ । उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको बताए ।
साथै शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।