काठमाडौं, ३ मंसिर । पछिल्लो एक वर्ष अवधिमा नेपालबाट बाहिरिने रोयल्टी झण्डै आधाले घटेको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकसम्ममा नेपालबाट ३८ करोड २२ लाख रुपैयाँ रोयल्टी बाहिरिएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ७४ करोड ८६ लाख रुपैयाँ रोयल्टी बाहिरिएको थियो । विदेशी प्रविधि प्रयोग गरेबापत नेपालबाट रोयल्टी बाहिरिने गर्छ ।
विदेशी लगानीकर्ताले चार महिनामा अमेरिकी डलरमा ८ लाख १५ हजार ५ सय २१ डलर रोयल्टी फिर्ता लगेका छन् । गत वर्ष सोही अवधिमा यस्तो रकम ५ लाख ९१ हजार ४ सय ६८ थियो ।
यस्तै लगानीकर्ताले भारुमा कार्तिकसम्मा २० करोड ५ लाख १ हजार १२८ भारु रोयल्टी फिर्ता लगेका छन् । गत वर्ष सोही अवधिमा यस्तो रकम १९ करोड २० लाख २५ हजार भारु लगेका थिए । युरोमा १० हजार २ सय रोयल्टीबापत नेपाल बाहिर गएको छ ।
त्यस्तै चालू आवको कार्तिकसम्मा लाभांशतर्फ ६ करोड ४० लाख रुपैयाँ रोयल्टी बाहिरिएको छ । गत वर्ष यस्तो रकम १ अर्ब ४१ करोड ६ लाख रुपैयाँ लाभांशबापत लगानीकर्ताले रोयल्टी फिर्ता लगेका थिए । सेवाशुल्कबापत नेपाली रुपैयाँमा ३८ करोड ८ लाख ६८ हजार १६७ रुपैयाँ रोयल्टी बाहिरिएको छ ।