काठमाडौं, ४ मंसिर । पछिल्लो एक वर्ष अवधिमा चालू खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार देखिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को असोजसममा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता चालू आवको असोजमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
चालू आवको असोजमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह क्रमशः १ अर्ब १५ करोड र ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।