काठमाडौं, ९ मंसिर । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।
उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।
रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ । लामिछाने र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।